Section 12
सूचनामा संशोधन
(१) प्रारम्भिक सूचना एक वा एकभन्दा बढी संशोधनहरुबाट संशोधित हुन सक्नेछ । प्रारम्भिक सूचनाको संशोधनको सूचनामा देहायका कुराहरु समावेश भएको हुनु पर्नेछः–
(क) दर्ता नम्बरबाट प्रारम्भिक सूचनाको पहिचान गरिएको हुनु पर्ने,
(ख) संशोधनको अख्तियारी दिने सूचनामा उल्लिखित धितो लिने व्यक्तिको पहिचान गरिएको हुनु पर्ने,
(ग) सूचनालाई संशोधन गर्न खोजिएको कुरा स्पष्टरुपमा खुलाइएको हुनुपर्ने,
(घ) सूचनाको संशोधन भएको कुरा देखाउने गरी सूचनालाई पूर्णरुपमा पुनर्लेखन गरी प्रारम्भिक सूचनामा खुलाउनु पर्ने सम्पूर्ण जानकारी उपलब्ध गराउनु पर्ने ।
(२) धितो दिने व्यक्तिले हस्ताक्षरित अभिलेखनद्वारा अख्तियारी दिई कुनै संशोधनको सूचना दर्ता गरिएकोमा त्यस्तो संशोधनको सूचनाले समेटेको धितोको सम्पत्तिमा थप हुने व्यवस्था गरेमा वा कुनै धितो दिने व्यक्तिलाई सूचनामा समावेश गरेमा सो संशोधन मान्य हुनेछ । धितोको लाभका सम्बन्धमा सम्झौतामा स्पष्टरुपमा उल्लेख भएको वा नभएको जेसुकै भए तापनि त्यस्तो सम्झौता गरिसकेपछि सो सम्झौतामा उल्लिखित धितोको सम्पत्ति तथा सोबाट प्राप्त लाभलाई समेट्ने गरी संशोधन दर्ता गर्न पाउने गरी धितो दिने व्यक्तिले अख्तियारी दिएको मानिनेछ ।
(३) सूचनामा एकभन्दा बढी व्यक्तिको नाम धितो लिने व्यक्तिको रुपमा जनिएको भएमा त्यस्तो प्रत्येक व्यक्तिले संशोधन दर्ता गर्न कसैलाई अख्तियारी दिन सक्नेछ ।
(४) सूचनामा एकभन्दा बढी धितो लिने व्यक्तिको नाम उल्लेख भएकोमा कुनै एक धितो लिने व्यक्तिले हस्ताक्षरित अभिलेखद्वारा दर्ता गर्न अख्तियारी दिएमा संशोधन मान्य हुनेछ ।
(५) सूचनामा उल्लिखित धितो लिने एउटा व्यक्तिले अख्तियारी दिएको संशोधनले सूचनामा उल्लिखित धितो लिने अर्को व्यक्तिको अधिकारमा कुनै असर पार्ने छैन ।
(६) धितोको सम्पत्ति थप गर्ने संशोधन दर्ता गरिएको मितिदेखि मात्र थप गरिएको धितोको सम्पत्तिको हकमा सो संशोधन मान्य हुनेछ ।
(७) धितो दिने व्यक्ति थप गर्नका लागि संशोधन दर्ता गरिएको भए सो संशोधन दर्ता गरिएको मितिदेखि मात्र थप गरिएको धितो दिने व्यक्तिको हकमा सो संशोधन मान्य हुनेछ ।
(८) धितोको सम्पत्ति वा धितो दिने व्यक्ति थप गर्ने संशोधनबाहेकको अन्य संशोधनको सूचनामा उल्लिखित धितो लिने व्यक्तिले त्यस्तो संशोधन दर्ता गर्न अख्तियारी दिएमा मात्र सो संशोधन मान्य हुनेछ ।
(९) सूचनामा उल्लिखित धितो लिने सबै व्यक्तिहरुलाई सो सूचनाबाट बाहेक गर्ने वा त्यसरी बाहेक गरिएका धितो लिने व्यक्तिहरुको सट्टा नयाँ धितो लिने व्यक्तिको नाम सूचनामा उल्लेख नगर्ने वा त्यस्तो सूचनामा उल्लिखित धितो दिने सबै व्यक्तिहरुको नाम हटाउने वा त्यसरी हटाइएका धितो दिने व्यक्तिको सट्टा नयाँ धितो दिने व्यक्तिको नाम सूचनामा उल्लेख नगर्ने संशोधन अमान्य हुनेछ ।
(१०) संशोधनको दर्ताले कुनै पनि सूचनाको बहाली अवधिलाई विस्तार गर्ने छैन ।